"नयन, त्यो क्यालकुलेटर देउ न", दाहिने तर्फबाट आवाज आयो। लगभग चार महिना पछि म त्यो आवाज सुन्दै थिएँ। मैले चुपचाप क्यालकुलेटर दाहिने तर्फ सारी दिएँ। आशा त्यस दिन मसँग बोली। मेरो मन फुरुङ्ग भयो। म्याथको एग्जाम को दिन एउटा क्यालकुलेटर पनि नलिइ के आएकी होलि जस्तो लागिरहेको थियो। त्यतिकैमा पछाडिबाट एउटा हात र त्यस हातमा क्यालकुलेटर बेन्चमा पसारिए र हात पुन: पछाडी नै त्यही बाटो लाग्यो।
मलाई पनि एग्जाम दिने समय अगाडि पछाडि को छ, के गर्दै छ, केही याद हुन्न। न कसैलाई केही सोध्छु, न त केही सामन नै माग्छु। एकलकाटे भन्छन मलाई साथीहरू एग्जामको बेला। तर सोध्नेलाई एन्सर भने पक्का देखाउँछु।
आशाले त्यति बोलेपछी मैले कैयौंपटक ऊ तिर हेरेँ, तर उसले अरु शब्द उच्चारण गरिनँ, अहँ मुखै फोरिन।
३ घन्टाको परीक्षा २ घन्टा ४५ मिनेटमै सक्काउने बानी थियो! त्यस दिन पनि सक्कियो। त्यस्तै समयमै सक्कियो। म उठेँ पेपर बुझाउन, उसले म तिर मुख फर्काइ, "सक्क्यो?" भनेर सोधी।
मैले नि जवाफ दिएँ," अँ, सक्को, बाइ"।
उसले केही नबोली मुन्टो फर्काइ, अनि छिटो छिटो हात चलाउन थाली।
गार्डलाई पेपर दिएर गुड-डे भनेर निस्किएँ, एक फेर सबैलाई हेरेँ, जोजोसँग आँखा जुध्यो मुस्कानले बिदा गरेँ, अब फेरि कहिल्यै भेट हुने छैन भनेर।
घर आइपुगेँ। "नयन, त्यो क्यालकुलेटर देउ न", यो वाक्यको स्मृति सहित आइपुगेछु। खाना खाइवरी गरेँ, मम्मी आज मलाई नबोलाउनु है, थकाइ लाइराछ भनेर म बेडमा पल्टिएँ!!
मेरा मस्तिष्कमा धेरै कुराहरू खेल्न थाले, म ती पलहरु एकएक गरि सम्झन थालेँ!
" हेल्लो! आशा जि " फ्रेन्डलिस्टमा नभए पनि मैले उसलाई मेसेज पठाएँ। रातीको ११ बजेको थियो। भोलि कलेजमा दह्रो गाली खाइने भइयो भन्ने लागि रहेको थियो। अन्जान मान्छे अनि त्यति राती मेसेज जो गरेको थिएँ। तर मेरो कल्पनामा पानी खन्याउँदै उताबाट रिप्लाई आयो, " भन्नुस न आँखा महोदय, नयन जि " आँखा झिम्क्याको स्माइली सहित!
उसैले फ्रेन्ड रिक्वेस्ट पनि पठाएकी थिइ। अनि मैले पनि त एसेप्ट नगर्नी कुरा भएन नि, एसेप्ट गरेँ। त्यस पछि उसले कलेजमा भेटौँला है भोलि भनेर अफ्लाइन भइ। मेरा लागि त्यो क्षण अपत्यारिलो थियो। आजसम्म कसैसँग पनि एसरी कुरा भएको थिएन, अझ भेटौँला नै भनेर पहिलो कुराकानी मै, यो त सोच्न सम्म नि सक्दिनँ।
भोलि पल्ट चाँडै कलेज पुगेँ! १०:३० मा सुरु हुने कलेज, १० बजे पुगेर टेबलटेनिस खेल्ने मान्छे म त्यस दिन ९ बजे नै पुगेँ। आखिर मन कस्तो होला चञ्चल, भेट्नी भनेपछि भेट्नै पर्नी! क्लासमा ब्याग राखेर आएर ग्राउन्डमा बेन्चमा बसेर उसलाई कुर्न थालेँ। म फेसबुकको प्रोफाइल पिक्चरमा देखेको अनुहार खोज्दै थिएँ, यत्तिकैमा "हेल्लो" भनेको सुनेँ। ऊ उभिरहेकी थिइ।
त्यतिन्जेल सम्म मेरा क्लासका साथीहरू पनि आइसकेका थिए। उसले बोलाएपछी मलाई हेरेर हाँसे र लागे मलाई एक्लै छोडेर। उसका साथीहरू पनि उसको ब्याग लिएर क्लासमा गए। मैले उसैलाई भनेँ, " कस्तो awkward feel भयो"।
"कहिल्यै यसरी भेट्या छैनौ", भनेर प्रश्न गरि। सहमति जनाउँदै टाउको हल्लाएँ। मेरो अनुहार रातै भयो। यो देखेर उसले भनी,"किन चिन्ता लिन्छौ म तिम्रो साथी नै त हुँ नि"
साथी शब्द सुनेपछी केही हल्का महसुस भयो। मैले कुराकानी जारी राख्ने बिचारमा उसको घर र पहिले पढेको स्कुलका बारे सोधेँ। उसले भनी,"म त पुर्व तिरको हो, अहिले बसाइँ चाहिँ चाबहिलमा हो", म एक किसिमले खुसी भएँ, मेरो घर पनि त्यही चाबहिलमै हो। अरु केही बोल्नै नभ्याउँदै उसले बायोको प्राक्टिकल कम्प्लिट गर्नु छ भनेर क्लास तिर कुदि, आफ्नै क्लासको अगाडि रहेछ, झ्याल तिर ढोका फर्किएको थियो हाम्रो, फेरि अर्को मन खुसी भएँ।
मलाई एक्लै छाडेर गएका साथीहरू नजिक आउँदै,"ओह्हो आशाको आशा........." भन्दै जिस्काउन थाले। हाँसेर टारिदिएँ।
क्लासमा छिरेपछि दिन त्यसै बित्यो। उसलाई पछि फेरि भेट्नी चेस्टा गरिनँ। फिजिकल ग्रुपको भएको हुनाले मेरो चाँडै छुट्टी हुन्थ्यो, त्यस दिन पनि भयो। कलेज त बानेश्वर मा थियो तर पनि मलाई हिँड्न नै रमाइलो लाग्थ्यो। म सधैं नै कलेजबाट छुटेपछी केहिबेर चाबहिल स्तुपा भित्र बस्थेँ, कहिलेकाहीँ त्यहीँ किताब झिकेर पढ्थेँ त कहिले आराम गरेर बस्थेँ, मलाई घर गइसकेपछी बाहिर निस्किन मन हुँदैन त्यही भएर बाहिर नै केही समय बिताउँथे।
तर त्यो दिन स्तुपामा बस्नुको पछाडि एउटा आश पनि थियो। आशासँग अर्को भेट हुन्छ कि भन्ने। २:३० मा कलेज छुटेको, म ३ बजे तिर त्यहाँ पुगेर बसिरहेको थिएँ। कतै आशा यहि बाटो भएर हिँड्छे कि भनेर मन डुलाउँदै थिएँ, करिब ६,७ मिनट त्यतिकै बितेछ। स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै कोहि आएको जस्तो लाग्यो। फर्केर हेर्दा असिन पसिन भएकी आशा थिइ। एक मनले मन फुरुङ्ग भयो। अर्को।मनले आशालाई त्यसतो अवस्थामा देख्दा चिन्ता पनि लाग्यो।
सोधेँ," किन यस्तो सास फुलाएर आएकी"?
उसले भनी,"तिमिलाई भेट्टाउन नि"
"कति छिटो हिँडेको। याँ मान्छे हिँड्न नसकेर खुट्टै दुख्यो, बरु टेम्पो नै चढ्नु पर्नी रैछ" भन्दै आँखा तरेर कुममा प्याट्ट हानी। मैले हाँस्दै लौ अब बस न त भनेँ। "तै पनि किन त ७ मिनेट ढिला", अचानक सोध्न पुगेछु। उसले जवाफ दिई, " तिम्रो क्लास सक्केपछी हाम्रो पनि लास्ट पिरियड हो नि त आज, अनि सर आउनु भयो एकैछिन बोल्नु भयो, अनि कसको पो हो फोन आयो, टन्नै कुरा गर्नु भयो, कतै जानै पर्ने रे भन्नू भयो, अनि जानू पनि भयो। अर्को सर आउनी कुरा गर्दै हुनुहुन्थ्यो हामीले कि त छुट्टी कि तपाईं नै क्लास लिनुस भन्यौँ अनि coordinator सँग कुरा गरेर हाम्लाई छुट्टी मिल्यो, अनि तिम्रो नि छुट्टी भएको थाहा थियो र भेट्न भनेर कुदेको", उसले एकै सासमा भनिसकी। म ट्वाँ परेर हेरिराखेँ। ऊ खितितित्त हाँसी। उसको हाँसोमा बडो गज्जबको मोहनी थियो भनौँ या नसा, पहिलो भेटमै मलाई ऊ निकै राम्रो लागेको थिइ।
फेरि सोधेँ," म यहिँ भित्र, यही कुनामा छु भनेर चाहिँ कसरी थाहा पायौ?"
उसले अगाडिको सानो गणेशको मन्दिर देखाउँदै भनी,"त्याँ साइडको फोटो स्टुडियो भएको घरमा बस्छु म", म झनै फुरुङ्ग भएँ, छिमेकमै पो रहिछ भनेर, हुन त मेरो घर रोड पारी थियो, तर पनि ऊ आफ्नै घर छेउ भएको जस्तो लाग्यो।
उसले आफ्नो कुरा जारी राखी," तिमिलाई सधैँ यहि देख्छु, कलेज बाट आउँदा अनि अरु छुट्टिको दिनहरुमा पनि। २ महिना भयो मैले तिमिलाई नोटिस गरेकी। नाम थाहा थिएन, कसैलाई सोध्न नि मन भएन। हिजो पनि तिम्रै बारेमा सोच्दै थिएँ अचानक तिम्रो मेसेज आयो। तिमी नै हो कि हैन भनेर तिम्रा सबै फोटोहरु हेरेँ। हो भन्नी पक्का भएपछी बोलेकी। तिम्रो नाम पनि कति राम्रो है।"
म केही बोल्न खोज्दै थिएँ, ऊ फेरि सुरु भइ," थाहा छ तिमी जुन बेन्चमा बस्छौ हाम्रो क्लासको झ्याल बाट देखिन्छ। कलेजमा याद गरेकी छु मैले तिमीलाई, सरहरुसँग झगडा गर्दै कोइसन सोधेको मलाई अत्ति मनपर्छ। अझ फिजिक्स ल्याबमा हरेक apparatus को खोजी नीति गर्छौ, केके कुराहरु गर्छौ, I like your style of talking and demonstration, हि.........हि........हि.........",
म अक्क न बक्क भएँ। " मैले कहाँ झगडा गरेको हो त? मैले त खाली बुझाउनुस भनेको हो। जहिले पनि आएर बुकमा जे छ त्यही लेखाएर कसरी पढ्ने भन त। लेखेको कुरा बुझ्नु पनि त पर्यो।"
"इन्जिनियर बन्ने छौ नयन तिमी एक दिन", मेरो कुरा काटेर अचानक यो प्रसङ्ग बिचमा ल्याइ!!
हामी गफ मै भुल्यौँ, ४ बजिसकेछ, पत्तै पाएनौँ। भोलि भेटौँला भने छुट्टियौँ। घर आएर खाजा खाइवरी म पढ्न बसेँ। आँखा अचानक कलेजको क्यालेन्डरमा पुग्यो। "ज्या! प्री बोर्ड १५ गते पो, लौ अब अलि मेहनत पो गर्नु पर्नि भयो त" आफैँसँग कुरा गर्दै पढ्न बसेँ।
करिब १० बजे तिर बिहान चाँडै उठ्न पर्छ भनेर अलार्म लाउन मोबाइल खोलेको आशाको मेसेज आएको रहेछ, "भोलि देखि मलाई पनि पढाउ है"
"हुन्छ, कलेजमा ब्रेक टाइम तिर लाइब्रेरी मा बसेर पढौँला नि ", भनेर सुतेँ। दिन बित्दै गए। हामी सँगै नै हुन्थ्यौँ कलेज जाँदा, घर फर्कंदा, मेरो चाँडो छुट्टी हुन्थ्यो त म लाइब्रेरी मै उसलाइ कुरेर पढ्दै बस्थेँ।
प्री बोर्डको रुटिन र सिट प्लानिङ आयो। आशा र म एकै बेन्चमा परेछौँ। मेरो हर्षको सिमा थिएन। एग्जाम दियौँ, रिजल्ट पनि आयो। मैले पढ्न मद्दत गरेकै भरले उसको ७४% आयो, ऊ आफैँ भन्थी। मेरो भने धेरै आएन ७१% ल्याएँ, यति मै चित्त बुझ्यो मेरो।
प्राक्टिकल एग्जाम आयो, दियौँ, हुँदै जाँदा ११ को बोर्ड पनि आयो।
बोर्ड एग्जाममा पनि ऊ र म अगाडि पछाडि नै हुने गर्थ्यौँ। उसको मित्रता मा मैले धेरै साथीहरू बनाइसकेको थिएँ। उसका साथीहरू मेरा पनि साथी भए, अनि केही साथी भन्दा फरक!!
११ परीक्षा पछि म आफुसँगै हराउन थालेको थिएँ। एक महिनाको बिदा मा मैले स्कुलका साथीहरूसँग भेटघाट गरेँ। उनीहरु सँग घुम्न गएँ। अँ, साँच्ची, हामी एकदिन जावलाखेल चिडियाखाना पनि गएका थियौँ। केटाकेटी सबै थियौँ, ५,६ जना थियौँ, त्यतिकै मा माया पिरतीको कुरा चल्यो साथिहरु बिच। मैले एक्कासी उसलाई सम्झिएँ। आशा हैन, मेरो पहिलो प्रेम। साथीहरूले सोधे मलाई पनि, "अनि gf छ होला नि हैन?"
नाइ भन्दै टाउको हल्लाएँ। घुमिवरी घर आएपछी आशालाई मेसेज गरेँ,"ओइ, के गर्दै छस? आज त तेरो मीतसँग भेट्न गको नि, क्या मज्जाले खेल्दै थियो😝😝", दुई तिनओटा फोटा पनि पठाएँ। उसले मेसेज हेरिनँ। सायद व्यस्त छ भन्ठानेँ। भोलिपल्ट मेसेज गरेँ, अझै पनि seen छैन। तेश्रो दिन बल्लतल्ल हेरि, अनि "ल राम्रो भएछ", यति भनेर offline.
बिस्तारै १२ को पढाइ सुरु हुने दिन आयो। आशा अझै बोलेकी थिइन। उसका साथीहरू लाई मेसेज गरेँ के भको आशा लाई भनेर, उनिहरुले नि खोइ के हो थाहा छैन भने। कलेज लागेपछि घर फर्किदै गर्दा भेट भयो ऊसँग। "किन चेन्ज भकी हँ एसरी??", मैले प्रश्न गरेँ।
Comment for the next part!!