"सुन्नुस् त!" पछाडिबाट एक महिलाको आवाज आयो। म पछाडि फर्किएँ। गालाको छाला चाउरी परेको थियो। उमेरले त्यस्तै पचहत्तर नागेकी होलीन्। उनी मेरो सामु उभिएकी थिइन्। "हजुरको नाम जीवन शर्मा होइन?" उन्ले प्रश्न गरिन्। "हजुर! हो" मैले जवाफ फर्काएँ। "हजुर पनि यहाँ" उन्ले ठटेउली पारामा भनिन्। "अब उमेरले डाडाँ काटेसी जीवनको सहयात्री भनेकै यही वृद्ध भत्ता त छ। त्यहि लिन आको।"मैले बोलेँ। अझै चाउरिएका गाला खुम्चाउदै बोलिन्,"मलाई चिन्नु भो त?" उन्को प्रश्न थियो। "सुनेकै बोली हो तर अलिक ठम्याउन सकिन ",मैले भनेँ। ढिलो नगरि उन्ले भनिन्,"म शुशीला!" । नाम सुन्ने बित्तिकै खै किन हो मेरो आँखा रसाएर आए। "यत्रो वर्ष कता थियौ?",उन्लाई हेर्दै प्रश्न गरेँ। "आउनु, चिया पिउदै कुरा गरूम्ला",उन्ले भनिन्। उनिसँगको मेरो परिचय लगभग साठ्ठी बर्ष पहिलेको हो। म अहिले अठहत्तर वर्षको भएँ। उनी र म एउटै बस्तीमा बस्थ्यौँ। उन्को बुवा आर्मीको ठूला मान्छे। गाउँघरमा जम्दार बा भन्थे सबैले। उन्की आमा बारीमा तरकारी फलाएर बेच्नु हुन्थ्यो। बा आमा उनी र उन्को एउटा भाइ । चार जनाको परिवार, सुखी परिवार।
उनी र म दुवै एउटै स्कुलमा पढ्थ्यौँ। उनी नौ मा पढ्थिन् अनि म दशमा। एउटै गाउँ भएकाले स्कुल सँगै जाने आउने गरथ्यौँ। बाटोमा आउँदा जादा निकै कुराकानि हुन्थ्यो हाम्रो। समय बित्दै गयो। बिस्तारै उनी प्रति म आकर्षीत हुन थालेँ। ती स्कुल जादाँको कुराकानी सम्झिदै रमाउन थालेँ। एकोहोरोपना बढ्दै गयो। उनी सँग छुट्टिएपछि फेरि स्कुल जाने बेला कति खेर हुन्छ भन्ने छटपटी रहिरहन्थ्यो। तर मैले उनलाई प्रस्ताव राख्या थिइन। मलाइ कता कता डर लाग्थ्यो। कतै उन्ले नराम्रो सोचिन् भनेँ। त्यसैले भनिन पनि। पढाइ चल्दै थ्यो। उन्ले पनि एस्.एल्.सी दिइन्। म एघारमा पढ्दै थिएँ।
केहि दिन पछि को कुरा हो। म कलेजबाट घर फर्कदै थिएँ। जम्दार बा र मेरा बा कुरा गर्दै हुनुहुन्थ्यो। जम्दार बा को जागीर अन्तै सरूवा भएछ। यो सुन्दा मन भारी भयो । शुशीला अब गाउँ छोडेर जाने भइन् भन्ने कुरा मात्र मस्तिस्कमा नाचिरहे । मन पिरलोइएकोले गर्दा त्यो दिन खिन्नतामै बित्यो।
नभन्दै उनीहरू जाने दिन नी आयो। उनी गइन्। मलाइ एक्लै छोडेर गइन्। थाहा छैन उनी पनि मलाइ माया गर्थीन् कि गर्दिन थिइन्।
"चिया सेलाइ सक्यो, पिउने हैन!"। उन्को बोली सुनेर म झस्किएँ। "कस्तो अचम्म लागिरहेको छ। यत्रो वर्षपछि पनि भेट हुदो रहेछ", उन्ले आचर्यचकित मुद्रामा भनिन्। "दैवको संयोगले गर्दा हामी भेट भयौँ",मैले भनेँ। "अनि छोरा छोरी कति छन् नी?","दुइ भाइ छोरा छन्",मैले भनेँ। "नातिनातिना नी"। "जेठाको एउटा छोरा छ अनि कान्छाको दुइ बहिनी छोरी"। "अनि तिम्रो?",मैले सोधेँ। "एउटा छोरा अनि एउटी छोरी"। "छोराको एउटि छोरी छे अनि छोरीको दुइटा छोरा",उन्ले भनिन्। अनि यस्तै उस्तै कुरा भए बिगतका धेरैबेरसम्म। उन्ले मेरो राम्रो पक्ष बयान गरिन्। मैले नि उन्को। हामी हास्यौ पनि। बुढेसकालको हँसाइ । चाउरीएका गालाले जीवन पाए। समय बित्यो।
क्षितिजमा घाम लुक्नै लागेछ। उनि पनि जाने तर्खरमा लागिन्। " फेरि भत्ता लिन आउँदा भेटुम्ला",उन्ले भनिन्। "यो हाम्रो अन्तिम भेट हो। छोराले अर्कै ठाउँ घर बनाएको छ। अब उतै जाने।",मनभारि पार्दै भनेँ। "ए",उन्ले यति मात्र भनिन्।
चियाको पैसा मैले तिरेँ। हामी त्यहाँबाट छुट्टियौँ।उनि देव्रे लागिन् अनि म दाइने। पर पुगी यसो फर्की हेरेँ उनि गइरहेकि थिइन्। मनमा भने एकतर्फ पिडा अनि अर्को तर्फ खुशी लागिराथ्यो। बिगतको सम्झनाले पिडा दियो भनेँ उन्को सफल जीवनले खुशी। दुवै विच द्वन्द भयो। आखिर अन्त्यमा खुशीकै जीत भयो। अनि बुढेसकालिय मुस्कान छर्न चाउरीएका गालाले पनि कन्जुस्याइँ गरेनन्।।